उत्तरी सीमानाकामा सशस्त्र प्रहरी बलको परिचालन बढ्दै गएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा सशस्त्रले बोर्डर आउट पोस्ट (बिओपी)को स्थापना गरेको छ । यससँगै चीनतर्फको नाकामा सशस्त्र प्रहरीको बिओपीको संख्या १० वटा पुगेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नंं. २९ गुल्म गोरखाको मातहत रहने गरी सो बिओपी स्थापना भएको हो । सदरमुकाम गोरखा बजारबाट करिब १६४ किलोमिटर उत्तरतर्फ रहेको बिओपीले नाकाबाट हुनसक्ने नियमित सीमा स्तम्भ तथा सीमा इलाकाको निगरानी गर्नेछ ।
सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनीकरणको उद्देश्यले बिओपी स्थापना भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । । ३८७५ मिटरको उचाइमा स्थापना भएको बिओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुईला नाका रहेको छ ।
सो नाकाबाट यसअघि सुन तस्करी लगायत चोरी तस्करी हुँदै आएको थियो । यसअघि सशस्त्र प्रहरी बलले चीनतर्फको सीमानाकामा दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलासहित नौ ठाउँमा बिओपी स्थापना गरिसकेको छ ।
हाल भारतको सिमानातर्फ दुई सय ४४ र चीनको सिमानातर्फ १० गरी बिओपीको संख्या २ सय ५४ वटा पुगेको छ । सीमा सुरक्षामै केन्द्रीत रहेको सशस्त्र प्रहरीले नाकामा पाँच सय बिओपी पु¥याउने लक्ष्य लिएको छ ।